New

Popular Posts

Sunday, June 21, 2026

नेपालमा कक्षा १–५ को मूल्याङ्कन प्रणाली: अवसर, चुनौती र सम्भावनाहरू

 


नेपालमा कक्षा १–५ को मूल्याङ्कन प्रणाली:

अवसर, चुनौती र सम्भावनाहरू

पछिल्ला केही वर्षयता शिक्षकको पेशागत विकास, शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रयोग, निरन्तर विद्यार्थी मूल्याङ्कन (Continuous Assessment System–CAS), एकीकृत पाठ्यक्रम, थिमगत मूल्याङ्कन सम्बन्धी विभिन्न तालिम, कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रमहरूमा सहजकर्ताको रूपमा सामुदायिक तथा सँस्थागत विद्यालयहरूमा सहभागी हुने अवसर प्राप्त गरेको छु। विभिन्न ठाउँका शिक्षकहरूसँगको संवाद तथा अन्तरक्रिया, विद्यालय भ्रमण, कक्षा अवलोकन तथा अनुभव आदान–प्रदानका क्रममा नेपालको विद्यालय शिक्षामा मूल्याङ्कन प्रणाली सम्बन्धी अभ्यास, चुनौती र सम्भावनाहरू नजिकबाट बुझ्ने अवसर मिलेको छ।

यो मूल्याङ्कन प्रणाली लागु हुनु पूर्व मूल्याङ्कन भन्नासाथ परीक्षा, उत्तरपुस्तिका, प्राप्ताङ्क र नतिजा मात्र बुझिन्थ्यो। विद्यार्थीको क्षमता वार्षिक वा अर्धवार्षिक परीक्षाबाट मापन गरिन्थ्यो। शिक्षकको सफलता पनि विद्यार्थीले कति प्रतिशत नतिजा ल्याए भन्ने आधारमा मापन हुने गरेको थियो। तर आज विश्वव्यापी रूपमा शिक्षा प्रणाली परिवर्तन भइरहेको छ । मूल्याङ्कनलाई केवल सिकाइको नतिजा मापन गर्ने माध्यमका रूपमा मात्र होइन, सिकाइलाई सहजीकरण गर्ने, सुधार गर्ने र विद्यार्थीको समग्र विकासलाई मार्गदर्शन गर्ने प्रक्रियाका रूपमा हेरिन थालेको छ।

नेपालमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र हालै लागू गरिएको कक्षा ४ र ५ मा विद्यार्थी मूल्याङ्कन मार्गदर्शन, २०८३ ले पनि यही सोचलाई आत्मसात् गरेको छ। विशेष गरी कक्षा १ देखि ५ सम्म लागू गरिएको शतप्रतिशत आन्तरिक मूल्याङ्कन प्रणालीले परम्परागत परीक्षा–केन्द्रित अभ्यासबाट सिकाइ–केन्द्रित अभ्यासतर्फको महत्वपूर्ण परिवर्तनलाई संकेत गर्दछ।

सहजकर्ताको रूपमा विभिन्न शिक्षक तालिमहरू सञ्चालन गर्दा मैले एउटा रोचक अनुभव बारम्बार प्राप्त गरेको छु। जब शिक्षकहरूलाई “मूल्याङ्कनको उद्देश्य के हो?” भनेर प्रश्न गरिन्छ, धेरैजसोले “अङ्क दिनु”, “उत्तीर्ण–अनुत्तीर्ण छुट्याउनु” वा “नतिजा निकाल्नु” भन्ने उत्तर दिन्छन् । तर तालिमको अन्त्यसम्म आइपुग्दा उनीहरूको बुझाइ परिवर्तन हुँदै जान्छ र मूल्याङ्कनको वास्तविक उद्देश्य विद्यार्थीको सिकाइ सुधार गर्नु हो भन्ने निष्कर्षमा पुग्छन् । यही परिवर्तनशील सोच नेपालको वर्तमान मूल्याङ्कन सुधारको मूल आधार हो।

मूल्याङ्कनको बदलिँदो अवधारणा

आधुनिक शिक्षाशास्त्रले मूल्याङ्कनलाई शिक्षण र सिकाइ प्रक्रियाको अभिन्न अङ्ग मानेको छ। Black Wiliam (1998) का अनुसार प्रभावकारी मूल्याङ्कनले विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार ल्याउन सक्छ। Earl Katz (2006) ले मूल्याङ्कनलाई तीनवटा प्रमुख आयाममा वर्गीकरण गरेका छन्—सिकाइको मूल्याङ्कन (Assessment of Learning), सिकाइका लागि मूल्याङ्कन (Assessment for Learning) र सिकाइका रूपमा मूल्याङ्कन (Assessment as Learning)

सिकाइको मूल्याङ्कन (Assessment of Learning)

यो परम्परागत मूल्याङ्कन प्रणाली हो, जसको मुख्य उद्देश्य विद्यार्थीले सिकेका ज्ञान, सीप र उपलब्धिको अन्तिम मापन गर्नु हो। वार्षिक परीक्षा, अर्धवार्षिक परीक्षा तथा स्तरीकृत परीक्षाहरू यसका उदाहरण हुन्।

मैले धेरै शिक्षकहरूसँग अन्तर्क्रिया गर्दा एउटा साझा भनार्इ अनुभव सुनेको छु– विद्यालयमा अझै पनि धेरै अभिभावक र समुदायले परीक्षाको नतिजालाई नै सिकाइको अन्तिम प्रमाण मान्ने गरेका छन्। “मेरो छोराले कति नम्बर ल्यायो?” भन्ने प्रश्न अझै पनि “उसले के सिक्यो?” भन्दा बढी सुनिन्छ। यसले हाम्रो समाजमा परीक्षा–केन्द्रित सोच अझै बलियो रहेको देखाउँछ।

सिकाइका लागि मूल्याङ्कन (Assessment for Learning)

यो मूल्याङ्कन सिकाइ सुधारका लागि गरिन्छ। शिक्षकले विद्यार्थीको सिकाइ अवस्थालाई निरन्तर रूपमा अवलोकन गरी आवश्यक पृष्ठपोषण (feedback) प्रदान गर्छन्।

तालिमहरूमा शिक्षकहरूले स्वीकार गरेका छन् कि विद्यार्थीलाई समयमै पृष्ठपोषण दिन सकियो भने अन्तिम परीक्षाको नतिजा स्वतः सुधार हुन्छ। उदाहरणका लागि, कक्षामा कुनै विद्यार्थीले गणितको अवधारणा बुझ्न सकेन भने वर्षको अन्त्यसम्म पर्खनुभन्दा त्यही समयमा सहयोग उपलब्ध गराउनु बढी प्रभावकारी हुन्छ।

सिकाइका रूपमा मूल्याङ्कन (Assessment as Learning)

यस अवधारणाले विद्यार्थीलाई आफ्नै सिकाइ प्रक्रियाको सक्रिय सहभागी बनाउँछ। स्व–मूल्याङ्कन, सहपाठी मूल्याङ्कन, सिकाइ डायरी र प्रतिबिम्बात्मक अभ्यासहरू यसका प्रमुख साधन हुन्।

एक तालिममा सहभागी एक शिक्षकले भन्नुभएको थियो, “जब मैले विद्यार्थीहरूलाई आफ्नै सिकाइको समीक्षा गर्न लगाएँ, उनीहरू पहिलेभन्दा बढी जिम्मेवार भए।” वास्तवमा सिकाइका रूपमा मूल्याङ्कनले विद्यार्थीलाई ज्ञान ग्रहणकर्ताको रूपमा मात्र होइन, सिकाइ प्रक्रियाको सह–निर्माता बनाउँछ।

नेपालमा निरन्तर विद्यार्थी मूल्याङ्कन (CAS) को विकास

नेपालमा निरन्तर विद्यार्थी मूल्याङ्कनको अवधारणा नयाँ होइन। यसलाई प्रारम्भिक रूपमा विद्यालय छोड्ने दर घटाउने, कक्षा दोहोरिने समस्या कम गर्ने र सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले लागू गरिएको थियो। विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) र विद्यालय क्षेत्र विकास योजना (SSDP) ले निरन्तर मूल्याङ्कनलाई संस्थागत बनाउने प्रयास गरेका थिए। हाल विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले यसलाई थप व्यवस्थित र विद्यार्थी–केन्द्रित बनाएको छ।

सहजीकरणका क्रममा मैले धेरै शिक्षकहरूबाट “निरन्तर विद्यार्थी मूल्याङ्कन(CAS) भनेको पटक–पटक परीक्षा लिनु हो” भन्ने बुझाइ सुनेको छु। तर वास्तवमा निरन्तर विद्यार्थी मूल्याङ्कन को उद्देश्य परीक्षा बढाउनु होइन; सिकाइको निरन्तर अभिलेखीकरण, पृष्ठपोषण र सुधार सुनिश्चित गर्नु हो। यही अवधारणा बुझाउन अझै धेरै प्रयास आवश्यक देखिन्छ।

कक्षा १–३ को मूल्याङ्कन प्रणाली

कक्षा १ देखि ३ सम्म हाल एकीकृत पाठ्यक्रम लागू गरिएको छ । यस तहमा शतप्रतिशत निरन्तर मूल्याङ्कनको व्यवस्था गरिएको छ । नीतिगत रूपमा यो व्यवस्था अत्यन्त प्रगतिशील छ । यसले बालबालिकालाई परीक्षा–केन्द्रित दबाबबाट मुक्त गर्छ । विद्यार्थीको सहभागिता, व्यवहार, सिर्जनशीलता, भाषा सीप, सामाजिक सीप तथा अन्य विकासात्मक पक्षहरूको मूल्याङ्कन गर्न सकिन्छ। तर प्रशिक्षणका क्रममा विद्यालय भ्रमण गर्दा मैले केही व्यावहारिक चुनौतीहरू पनि देखेको छु।

कतिपय शिक्षकहरूले पोर्टफोलियो व्यवस्थापनलाई अतिरिक्त प्रशासनिक कार्यका रूपमा लिएका छन् । कतिपय विद्यालयमा पोर्टफोलियो केवल कागज सङ्कलन गर्ने फाइलमा सीमित भएको देखिन्छ । वास्तवमा पोर्टफोलियो विद्यार्थीको सिकाइ यात्राको अभिलेख हुनुपर्छ, केवल फाइल होइन।

कक्षा ४ र ५ को नयाँ मूल्याङ्कन प्रणाली

२०८३ देखि लागू भएको कक्षा ४ र ५ को विद्यार्थी मूल्याङ्कन मार्गदर्शनले मूल्याङ्कन प्रणालीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ। यसअघि रहेको ५० प्रतिशत निरन्तर मूल्याङ्कन र ५० प्रतिशत आवधिक परीक्षा प्रणालीलाई हटाएर शतप्रतिशत आन्तरिक मूल्याङ्कन लागू गरिएको छ ।

यो परिवर्तनबारे शिक्षकहरूका धारणा मिश्रित छन्। केही शिक्षकहरूले यसलाई सकारात्मक सुधारका रूपमा लिएका छन् भने केहीले कार्यान्वयनका चुनौतीहरूबारे चिन्ता व्यक्त गरेका छन्।

मेरो विचारमा यो नीति सही दिशामा अघि बढेको कदम हो। किनभने यसले सिकाइलाई परीक्षा भन्दा माथि राख्छ। तर सफल कार्यान्वयनका लागि शिक्षकलाई पर्याप्त तालिम, समय, स्रोतसाधन र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ।

शिक्षक तालिमहरूमा बारम्बार उठ्ने प्रश्नहरू

प्रशिक्षकका रूपमा मैले सञ्चालन गरेका धेरै कार्यक्रमहरूमा केही प्रश्नहरू बारम्बार उठ्ने गरेका छन्:

•        परीक्षा बिना मूल्याङ्कन कसरी सम्भव हुन्छ?

•        सबै विद्यार्थीलाई उत्तीर्ण गरिँदा उनीहरूमा अध्ययनप्रतिको गम्भीरता घट्दैन?

•        ठूलो कक्षामा निरन्तर मूल्याङ्कन कसरी गर्ने?

•        पोर्टफोलियो व्यवस्थापनका लागि समय कहाँबाट ल्याउने?

•        अभिभावकलाई नयाँ प्रणाली कसरी बुझाउने?

यी प्रश्नहरूले शिक्षकहरू परिवर्तनका लागि तयार भए पनि कार्यान्वयन पक्षमा अझै स्पष्टता आवश्यक रहेको देखाउँछन्।

मैले देखेका प्रमुख चुनौतीहरू

. अवधारणागत अस्पष्टता

धेरै शिक्षकहरूले मूल्याङ्कन सुधारको उद्देश्य पूर्ण रूपमा बुझ्न सकेका छैनन्। CAS लाई परीक्षा प्रणालीको विकल्प मात्र ठान्ने प्रवृत्ति अझै देखिन्छ।

. शिक्षकको कार्यभार

नेपालका सामुदायीक विद्यालयमा प्राय शिक्षकले दैनिक ६–७ वटा पिरियड लिनुपर्छ। त्यसबाहेक प्रशासनिक जिम्मेवारी पनि हुन्छ। यस्तो अवस्थामा प्रत्येक विद्यार्थीको व्यक्तिगत अभिलेख राख्नु चुनौतीपूर्ण हुन्छ।

. स्रोतसाधनको अभाव

विशेष गरी ग्रामीण विद्यालयहरूमा पोर्टफोलियो व्यवस्थापन, अभिलेखीकरण र सिकाइ सामग्रीको अभाव देखिन्छ।

. अभिभावकको सोच

अभिभावकहरू अझै पनि अङ्क र ग्रेडलाई नै सिकाइको मुख्य सूचक मान्ने गर्दछन्। यसले नयाँ मूल्याङ्कन प्रणालीको स्वीकार्यता बढाउन कठिन बनाउँछ।

. तालिम र व्यवहारबीचको दूरी

धेरै तालिमहरू सैद्धान्तिक स्तरमा सीमित हुने गरेका छन्। शिक्षकहरूले विद्यालयको वास्तविक सन्दर्भमा ती अवधारणाहरू लागू गर्न कठिनाइ अनुभव गर्ने गरेका छन्।

सुधारका सम्भावित उपायहरू

मेरो प्रशिक्षकीय अनुभवका आधारमा निम्न उपायहरू प्रभावकारी हुन सक्छन्:

क. व्यवहारिक शिक्षक तालिम

तालिमहरू वास्तविक कक्षाकोठा अभ्यासमा आधारित हुनुपर्छ। उदाहरण, नमूना पोर्टफोलियो, वास्तविक केस अध्ययन तथा सहकर्मी सिकाइलाई प्राथमिकता दिनुपर्छ।

ख. डिजिटल मूल्याङ्कन प्रणाली

सूचना प्रविधिको प्रयोगले अभिलेखीकरण र पोर्टफोलियो व्यवस्थापनलाई सहज बनाउन सक्छ। डिजिटल पोर्टफोलियो भविष्यको प्रभावकारी विकल्प हुन सक्छ।

ग. अभिभावक अभिमुखीकरण

विद्यालयले नियमित रूपमा अभिभावकहरूलाई नयाँ मूल्याङ्कन प्रणालीबारे जानकारी दिनुपर्छ।

घ. शिक्षकलाई समय व्यवस्थापन

मूल्याङ्कनलाई प्रभावकारी बनाउन शिक्षकलाई पर्याप्त समय र सहयोग उपलब्ध गराउनुपर्छ।

ङ. सहयोगी अनुगमन

अनुगमनको उद्देश्य त्रुटि खोज्नु होइन, सुधारमा सहयोग गर्नु हुनुपर्छ।

निष्कर्ष

सहजकर्ता, शिक्षक तथा विद्यालय नेतृत्वकर्ताका रूपमा विभिन्न विद्यालय, तालिम र कार्यशालाहरूमा सहभागी हुँदा मैले एउटा कुरा स्पष्ट रूपमा महसुस गरेको छु– नेपालको मूल्याङ्कन प्रणाली परिवर्तनको महत्वपूर्ण चरणमा छ। नीति तहमा भएका सुधारहरू सकारात्मक र समयसापेक्ष छन्। कक्षा १ देखि ५ सम्म लागू गरिएको शतप्रतिशत आन्तरिक मूल्याङ्कन प्रणालीले विद्यार्थीको समग्र विकास, सिर्जनशीलता, व्यवहारिक सीप र निरन्तर सिकाइलाई प्राथमिकता दिएको छ।

तर कुनै पनि नीति कागजमा राम्रो भएर मात्र सफल हुँदैन। यसको सफलता शिक्षकको बुझाइ, विद्यालयको तयारी, अभिभावकको सहयोग र प्रभावकारी कार्यान्वयनमा निर्भर हुन्छ। यदि हामीले मूल्याङ्कनलाई केवल अङ्क दिने प्रक्रियाबाट सिकाइ सुधार गर्ने प्रक्रियामा रूपान्तरण गर्न सक्यौँ भने नेपालको विद्यालय शिक्षामा गुणात्मक परिवर्तन सम्भव छ।

[इन्द्र कुमार तामाङ, प्रधानाध्यापक, श्री जनजागृति मा.वि., मेलम्ची ११, सिन्धुपाल्चोक]

सन्दर्भ सूची (References)

Assessment Reform Group. (1999). Assessment for learning: Beyond the black box. University of Cambridge School of Education.

Black, P., & Wiliam, D. (1998). Assessment and classroom learning. Assessment in Education: Principles, Policy & Practice, 5(1), 7–74.

Brookhart, S. M. (2017). How to give effective feedback to your students (2nd ed.). ASCD

Curriculum Development Centre (CDC). (2019). विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६. भक्तपुर: नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय।

Earl, L. M., & Katz, S. (2006). Rethinking classroom assessment with purpose in mind. Manitoba Education, Citizenship and Youth.

Extramarks. (n.d.). What is assessment of, for, and as learning? Extramarks

Indira Gandhi National Open University (IGNOU). (n.d.). Assessment of learning, assessment for learning and assessment as learning. IGNOU

Ministry of Education, Science and Technology (MoEST). (2022). School Education Sector Plan (SESP) 2022–2032. Kathmandu: Government of Nepal.

OECD. (2013). Synergies for better learning: An international perspective on evaluation and assessment. Paris: OECD Publishing.

Paulson, F. L., Paulson, P. R., & Meyer, C. A. (1991). What makes a portfolio a portfolio? Educational Leadership, 48(5), 60–63.

Rai, C. B. (2019). Teacher's perception of continuous assessment system at basic level. Molung Educational Frontier, 9, 55–64.

UNESCO. (2021). Reimagining our futures together: A new social contract for education. Paris: UNESCO Publishing. UNESCO

UNICEF. (2022). Foundational learning and remedial education strategies in South Asia. Kathmandu: UNICEF Regional Office for South Asia. UNICEF

Western and Northern Canadian Protocol (WNCP). (2006). Rethinking classroom assessment with purpose in mind. Winnipeg: WNCP.

World Bank. (2022). Collapse and recovery: Learning loss and education reform in South Asia. Washington, DC: World Bank. World Bank

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD). (२०८३). कक्षा ४ र ५ मा विद्यार्थी मूल्याङ्कन मार्गदर्शन, २०८३. भक्तपुर: नेपाल सरकार।

 

 

 

 

 

 



No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages